अपडेट: २५ असोज, २०८१
एक जोर लुगा, लुँगी र कापीकलम बाेकेर म कम्युनिस्ट हुन हिँडेँ
मैले थाहा पाउँदा मेरो परिवारको वर्गीय स्थिति निम्न मध्यम किसान वर्गमा खस्कँदै थियो । झण्डै दश जनाको परिवार संख्या, गम्भीर अस्वस्थताले आज हो कि भोलि हुनुभएका बा, नहुर्किसकेका तीन जना– दाइ, दिदी र मैले खासै उत्पादनमूलक श्रममा भाग लिन सक्दैनथ्यौँ । दुई जना हुर्किएका दाइहरू भविष्य सपार्न मधेसतिर झरिसक्नुभएको थियो । चालीस वर्ष भर्खर पूरा गर्नुभएकी मेरी आमाले घरधन्दादेखि मेलापातका कामसमेत भ्याउनैपर्ने बाध्यात्मक स्थिति थियो । खेतबारीमा बालीनाली लगाउने र उठाउने बेलामा केहीकेही खेताला खोज्नैपर्थ्यो । यसको जोहो गर्न पनि आमा प्रायः भालेको डाँकमा घरबाट निस्किसक्नुहुन्थ्यो । कति पटक त बिहानीपख हामीले आमालाई ओछ्यानमा नभेट्दा ‘आमा ! आमा !!’ भन्दै रोएको सम्झना अहिले पनि आउँछ ।