प्रेस विज्ञप्ति, जेठ २
नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका लागि जेठ ३ गते एउटा स्मरणीय र अत्यन्तै भावपूर्ण दिन हो । ०५० साल जेठ ३ गते पार्टी कामको सिलसिलामा पोखराबाट नारायणघाटतर्फ लाग्दै गर्दा नेकपा(एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदनकुमार भण्डारी र पार्टीका संगठन विभाग प्रमुख एवम् कुशल संगठक कमरेड जीवराज आश्रितको चितवनको दासढुङ्गामा षडयन्त्रमूलक हत्या भएको थियो । भोलि अर्थात ०६८ जेठ ३ गते वहाँहरुको १८ औं स्मृति दिवस हो ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्दै शान्तिपूर्ण प्रतिस्पर्धा र लोकतान्त्रिक विधिवाट नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) अघि सारेर जननेता मदन भण्डारीले ऐतिहासिक तथा दूरगामी महत्वको भूमिका निर्वाह गर्नुभएको थियो । हत्या, हिंसा र प्रतिहिंसाको वाटोलाई छोड्दै आज नेपाली समाज सहमति, शान्ति र समृद्धिको दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ । शान्तिपूर्ण राजनीतिक जनक्रान्तिका उपलब्धिहरुलाई संविधानसभामार्फत संस्थागत गर्ने पहलहरु भइरहेका छन् । यस परिपे्रक्ष्यमा जबजको सान्दर्भिकताको थप पुष्टि भएको छ । आजको बदलिंदो परिवेशमा जबजलाई अझ सम्मृद्ध गर्दै नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनलाई एकतावद्ध गर्ने खाँचो छ । नेकपा (एमाले) यो ऐतिहासिक कार्यभारप्रति आफ्नो अविचलित प्रतिबद्धता व्यक्त गर्दछ । केही निश्चित क्षेत्रमा सीमित कम्युनिष्ट पार्टीलाई देशव्यापी र विभिन्न जनवर्गसम्म फैलाउन कमरेड जीवराज आश्रितले संगठनात्मक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पनि सर्वविदितै छ । यस दिवसका अवसरमा वहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै वहाँहरुले देखाउनु भएको बाटोलाई अझ फराकिलो बनाउँदै अविचलित ढङ्गले अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।
१८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्न पार्टी केन्द्रले देश तथा प्रवासमा रहेका पार्टी कमिटी तथा पार्टीसँग आबद्ध विभिन्न जनवर्गीय तथा पेशागत संघ÷संगठनहरुलाई निर्देशित गरिसकेको छ । यसै सिलसिलामा पार्टी केन्द्रले पनि परम्परागतभन्दा भिन्न र सिर्जनात्मक कार्यक्रमसहित भोलि विहान ८ बजे केन्द्रीय कार्यालय, बल्खुमा मदन–आश्रित स्मृति दिवस मनाउन लागेको कुरा हामी यहाँहरु सबैमा जानकारी गराउँदछौं ।
पार्टी काममा निरन्तर क्रियाशील अशक्त, असहाय तथा विभिन्न कारणवाट आर्थिक समस्या झेलिरहेका कार्यकर्ताहरुको जीवन रक्षा गर्दै पार्टीमा समाजवादी सँस्कृतिको निर्माणमा जोड दिने उद्देश्यले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनवाट कार्यकर्ता संरक्षण कोष स्थापना गर्ने निर्णय भएको थियो । उक्त निर्णयले पार्टी पंक्तिमा उल्लेख्य उत्साह पनि पैदा गरेको थियो । महाधिवेशनको उक्त निर्णयलाई कार्यान्वयन गर्न भोलि जेठ ३ गते मदन–आश्रित कार्यकर्ता संरक्षण कोष स्थापनाको घोषणा गरिने छ । उक्त कोषमा ५ लाख रुपियाँ सहयोग गर्नेहरु मानार्थ सदस्य, १ लाख रुपियाँ सहयोग गर्नेहरु आजीवन सदस्य र १० हजार रुपियाँ सहयोग गर्नेहरु परिषद् सदस्य रहने व्यवस्था गरिएको छ । उक्त कोषमा पार्टी अध्यक्षदेखि सबै केन्द्रीय सदस्यहरु तथा सांसदहरुले पनि अनिवार्य सहयोग गर्नुपर्ने निर्णय गरिएको छ भने प्रत्येक पार्टी सदस्यले यस कोषमा प्रत्येक पाँचवर्षमा एक सय रुपियाँ जम्मा गर्नुपर्ने छ । आम पार्टीपंक्ति तथा सहयोगदाताहरुलाई प्रोत्साहित गर्ने गरी यस कोषमा पार्टीको केन्द्रीय कोषबाट समेत निश्चित रुपियाँ बिज रकमका रुपमा राख्ने निर्णय भएको छ । आगामी एकवर्षभित्र यस कोषमा कम्तिमा पनि १० करोड रुपियाँ जम्मा गर्ने लक्ष्य राखिएको छ ।
पार्टी कामको विस्तार र विकासका दृष्टिले पार्टीको केन्द्रीय कार्यालय भवन अपुग भएको कुरा विगत लामो समयदेखि महसुस हँुदै आएको थियो । पार्टी कामको आधुनिकीकरण, सूचना र संचारमा आएको क्रान्ति, विभागीय कामहरुको महत्व, राजनीतिक कामको विशिष्टिता तथा व्यवसायिकताजस्ता पक्षसँग पार्टी केन्द्रको कामलाई सामन्जस्य गराउन मदननगर परिसरमै थप नयाँ भवन बनाउने निर्णय भएको छ । ‘पुष्पलाल स्मृति भवन’ नामाकरण गरिएको उक्त भवनको भोलि जेठ ३ गते हाम्रा अग्रज नेताहरुको स्मृतिकै दिन शिलान्यास गरिने छ । पाँच तल्ले उक्त भवनको आगामी डेढ बर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । ‘कार्यकर्ता संरक्षण कोष’ तथा भवन निर्माणका लागि पार्टी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा एक समितिसमेत गठन भइसकेको छ । उक्त समितिमा शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराई, भरत पहारी, रामनाथ ढकाल, रवीन्द्र अधिकारी, सोम पाण्डे, हिक्मत कार्की, केदार संजेल र विनोद ढकाल सदस्य तथा पशुरमेघी गुरुङ्ग सदस्य–सचिव रहनुभएको छ ।
भोलि आयोजना गरिने स्मृति दिवसको अवसरमा कृषि, जलश्रोत र चिकित्साशास्त्रको क्षेत्रमा विशिष्ठ योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिने छ । त्यसको लागि गठन भएको छनोट समितिले काम अघि बढाएको छ । यस कामलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइनेछ । यसैगरी, खेलकुद महासंघले छनोट गरेका खेलाडीहरुलाई पनि भोलि नै सम्मान गरिने छ ।
उपरोक्त कार्यहरुले अग्रज नेताहरुका सैद्धान्तिक, वैचारिक, राजनीतिक र संगठनात्मक योगदानलाई चिरस्थायी बनाउन सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं । यस ऐतिहासिक शुरुवात तथा गौरवशाली कार्यमा सहयोग पु¥याउन सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकहरुमा हामी हार्दिक आव्हान गर्दछौ । राजनीतिक क्षेत्रमा देखिएको साँस्कृतिक क्षयीकरणलाई रोक्दै राजनीतिप्रतिको जनआकर्षण बढाउने काममा सहयोग पु¥याउन सम्पूर्ण संचार जगतलाई पनि हामी हार्दिक आव्हान गर्दछौं ।
ईश्वर पोखरेल
महासचिव